काठमाण्डौ । संसदीय सुनुवाइ समितिले बैठकमा सांसदहरूलाई सकेसम्म नेपाली भाषामै बोल्न आग्रह गर्दै रुलिङ गरेको छ।
मंगलबार बसेको समितिको बैठकको सुरुमै सभापति बोधनारायण श्रेष्ठले सांसदहरूलाई प्रश्न तथा धारणा राख्दा नेपाली भाषालाई प्राथमिकता दिन रुलिङ गरेका हुन्। यद्यपि आवश्यकताअनुसार कतिपय उद्धरण वा प्राविधिक शब्द अंग्रेजीमा प्रयोग गर्न सकिने उनले स्पष्ट पारे।
यसअघि बसेको समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले सांसदहरूले प्रश्न गर्दा नेपाली भाषा प्रयोग गर्नुपर्ने व्यवस्था सभापतिबाटै गरिनुपर्ने माग राखेका थिए। सोही विषयलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले बैठकमा नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ जारी छ। सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्पन्न भएको थियो।
मंगलबार बाँकी मुलुकका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।