काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म ४ प्रतिशतभन्दा तल रहने प्रक्षेपण गरेको छ।
आईएमएफको पछिल्लो ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै विस्तार हुने अनुमान छ। सन् २०२७ मा आर्थिक वृद्धिदरमा सामान्य सुधार आए पनि ३.७ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण छ।
यसले तत्कालै नेपालको अर्थतन्त्र उच्च वृद्धिको लयमा फर्किने सम्भावना कमजोर रहेको संकेत गरेको छ। सन् २०२६ को तुलनामा २०२७ मा वृद्धिदर ०.१ प्रतिशत बिन्दुले मात्र सुधार हुने अनुमान गरिएको हो।
२०२७ मा महँगीमा ठूलो उछालको प्रक्षेपण
आईएमएफले उपभोक्ता मुद्रास्फीतिमा भने सन् २०२७ मा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ।
सन् २०२५ मा ४.१ प्रतिशत रहेको मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने प्रक्षेपण छ। तर त्यसको एक वर्षपछि अर्थात् सन् २०२७ मा मुद्रास्फीति तीव्र रूपमा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
यसअनुसार सन् २०२६ मा मूल्यवृद्धिको दबाब केही कम भए पनि २०२७ मा पुनः महँगी बढ्ने जोखिम देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।