काठमाण्डौ । बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको दुवैतर्फको पहुँच सडक बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।
नवलपुरतर्फको अस्थायी पहुँच सडक यसअघि नै निर्माण भइसकेको थियो भने तनहुँतर्फको सडक बुधबार सम्पन्न भएपछि पुलबाट पुनः सवारीसाधन सञ्चालन सुरु भएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिएका छन्।
घिरिङतर्फको पहुँच सडक मर्मतका लागि सडक डिभिजन कार्यालय तनहुँले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो। उक्त काम सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौताअनुसार सम्पन्न गरेको जनाइएको छ।
पुल सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवनलगायतका क्षेत्रमा आवतजावत सहज भएको छ। यसबाट स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानीमा समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
करिब १२ वर्षअघि निर्माण भएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै अवस्थित छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्र आवतजावतका लागि समेत यो पुल महत्वपूर्ण नाकाका रूपमा प्रयोग हुँदै आएको छ।
पुलको पहुँच सडक अवरुद्ध हुँदा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन प्रभावित हुँदै आएका थिए।
दसैँ नजिकिँदै गर्दा पुल पुनः सञ्चालनमा आएकाले स्थानीयलाई विशेष राहत मिलेको गाउँपालिका अध्यक्ष थापाले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।