काठमाण्डौ । चाडपर्वमा राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई बासी, सडेगलेका तथा अस्वच्छ खानेकुरा बिक्री नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई सचेत गराएको छ। विभागले तोकिएका स्वच्छता तथा गुणस्तरका मापदण्ड पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएको हो।
असोज २९ गते जारी सूचनामार्फत विभागले दशैं, तिहार र छठलगायत चाडपर्वमा यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेस्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई खाद्य स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरेको छ।
विभागले बासी, झिँगा भन्केका, सडेगलेका तथा धुवाँ, धुलो र फोहोर पानी मिसिएका वा त्यस्तो अवस्थामा तयार गरिएका खानेकुरा बिक्री नगर्न स्पष्ट निर्देशन दिएको छ। व्यवसायीले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्रै बिक्री गर्नुपर्ने र खानेकुरा राम्ररी पकाएर मात्र खुवाउनुपर्ने सूचनामा उल्लेख छ।
खाना राख्ने तापक्रमदेखि भान्साको सफाइसम्ममा जोड
विभागले बिक्रीका लागि सोकेस वा कक्षमा राखिने खाद्य पदार्थको प्रकृतिअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन भनेको छ। तयार खाना सुरक्षित तापक्रममा संरक्षण गर्न तथा पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न पनि निर्देशन दिएको छ।
भान्सा, खाना वितरण गर्ने स्थान र वरपरको परिसर सफा राख्नुपर्ने, कामदार तथा कर्मचारीको व्यक्तिगत सरसफाइ कायम गर्नुपर्ने र सफा भाँडाकुँडामा मात्रै पकाउने तथा खाना दिनुपर्ने विभागको भनाइ छ। त्यस्तै, स्वच्छ र गुणस्तरीय पानी तथा कच्चा पदार्थ मात्र प्रयोग गर्न भनिएको छ।
व्यवसायीलाई उचित मूल्य लिएर मात्रै खानेकुरा बिक्री गर्नसमेत विभागले आग्रह गरेको छ।
खाद्य स्वच्छताको स्तरीकरण गरी लोगो लिन आग्रह
विभागले आफ्नो वा मातहतका कार्यालयबाट व्यवसायको खाद्य स्वच्छताको अवस्थाका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत जानकारी गराएको छ।
चाडपर्वमा यात्रुको आवागमन बढ्ने समयमा खाना तथा खाजाको गुणस्तर सुनिश्चित गर्न विभागले यी मापदण्ड पालना गर्न सम्बन्धित सबै खाद्य व्यवसायीको ध्यानाकर्षण गराएको हो।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।