काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ।
आवास निर्माणका लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भवन विभाग र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको हो।
रेडक्रस केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार सम्झौताअन्तर्गत बाढीपीडितका लागि अस्थायी बसोबास, स्थायी आवास र भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ।
उनका अनुसार घर बगाएका तथा बस्नै नमिल्ने अवस्थामा पुगेका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ।
दसैँलगत्तै कार्ययोजना
रेडक्रसले दसैँलगत्तै विस्तृत कार्ययोजना तयार गर्ने जनाएको छ। सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी तथा स्थायी आवास निर्माण प्रक्रिया अघि बढाइनेछ।
सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्नेछ भने रेडक्रसले राहत, आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ।
भण्डारीले सहमति तत्काल कार्यान्वयनमा जाने बताएका छन्। बाढीबाट घर गुमाएका परिवारलाई चरणबद्ध रूपमा सुरक्षित बसोबासको व्यवस्था गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
रेडक्रस र भवन विभागबीच भएको सम्झौताले प्रभावित परिवारलाई तत्काल आश्रयदेखि दीर्घकालीन पुनर्स्थापनासम्म सहयोग पुर्याउने उद्देश्य राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।