काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न कानुनी सुधार, सेवा सुविधाको विस्तार तथा प्रविधि र पूर्वाधारमा लगानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
असोज ३० गते नक्सालस्थित प्रहरी मुख्यालयमा आयोजित ७१औँ नेपाल प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ कानुनमार्फत प्रहरी कर्मचारीको सेवा अवधि, वृत्ति विकास र सेवा सुविधामा सुधार गरिने जानकारी दिए।
गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीको आवास र स्वास्थ्य सुविधामा सुधार गर्नुका साथै सरुवा तथा बढुवा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने सरकारको योजना रहेको बताए। प्रहरी कर्मचारीको काम र नतिजाका आधारमा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्न नयाँ प्रहरी विधेयकमा काम भइरहेको पनि उनले जानकारी दिए।
कार्यक्रममा उनले शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा विपद्का समयमा उद्धार र राहतमा खटिने नेपाल प्रहरीको भूमिकाको प्रशंसा गरे।
रसुवा–भोटेकोशी, मनाङ–मुस्ताङ र बुढीगण्डकीमा आएका बाढीलगायतका विपद्का घटनामा आफ्नै सहकर्मी गुमाउँदा वा बेपत्ता हुँदा समेत कर्तव्यबाट विचलित नभई खटिएका प्रहरी कर्मचारीको साहस, धैर्य र समर्पणको उनले उच्च मूल्याङ्कन गरे।
गृहमन्त्री गुरुङले प्रहरीको वर्दी डर र त्रासको प्रतीक नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्नेमा जोड दिए।
उनले सही काम गर्ने प्रहरी कर्मचारीलाई सरकारले साथ दिने तर गलत कामको संरक्षण नहुने स्पष्ट पारे। नागरिकको विश्वास जित्ने, जिम्मेवार र आदर्श प्रहरी संगठन निर्माण गर्न सबै तहका प्रहरी कर्मचारीले व्यावसायिक आचरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सरकारले कानुनी सुधारसँगै प्रहरीको पूर्वाधार, प्रविधि, सेवा सुविधा र वृत्ति विकासलाई समेटेर संगठनात्मक सुधार अघि बढाउने तयारी गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।