काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। बैंकको खुद नाफा करिब १७ प्रतिशतले बढ्दा खराब कर्जा अनुपात घटेको छ भने प्रतिसेयर आम्दानी पनि सुधार भएको छ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा एक वर्षमा करिब १६.९९ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा २८ करोड ४६ लाख २८ हजार रुपैयाँ थियो। यसरी बैंकको सञ्चालन नाफा करिब १९ प्रतिशतले बढेको छ।
खुद ब्याज आम्दानी भने सामान्य दरले वृद्धि भएको छ। पहिलो त्रैमासमा बैंकले ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ थियो।
बैंकको खराब कर्जा अनुपातमा पनि सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल कर्जाको ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ। नेट एनपीएल पनि १.२४ प्रतिशतबाट घटेर ०.८४ प्रतिशतमा सीमित भएको छ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १६ करोड ४ लाख रुपैयाँ हाराहारीमा रहेको छ। वितरणयोग्य नाफाका आधारमा वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा १५.७६ रुपैयाँ कायम भएको छ।
नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २०.४६ रुपैयाँ रहेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २३.१३ रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात २०.५८ गुणा कायम भएको छ।
समीक्षा अवधिसम्म बैंकले ग्राहकबाट ६७ अर्ब ९० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप करिब ६६ अर्ब १७ करोड रुपैयाँ थियो। यस्तै ग्राहकतर्फ प्रवाह भएको कर्जा तथा सापटी ५४ अर्ब २० करोड रुपैयाँबाट बढेर ५६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।