काठमाडौं । वितरण लाइन भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गर्न लागेको हो ।
प्राधिकरणका अनुसार मंसिर ३, ६ र ८ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । मंसिर ४, १० र १४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनी–शिफल ग्राउन्ड तथा शिफल ग्राउन्ड–कालोपुल क्षेत्रमा कटौती हुनेछ ।
त्यस्तै, मंसिर ५ गते कालिमाटी र बाफल फिडरको स्युचाटार पुल, मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरको ईडीटीआर ९ र ९ए, मंसिर ९ गते कोटेश्वर फिडरको ईडीटीआर २६ए र ४, मंसिर ११ गते बलम्बु/थानकोट फिडरको सतुङ्गल–डुङ्गे अड्डा, मंसिर १२ गते कोटेश्वर फिडरको ईडीटीआर ८ए र ८ तथा मंसिर १३ गते थानकोट फिडरको बलम्बु–सगरमाथा स्याटेलाइट स्टेसन क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले भूमिगत लाइन विस्तार तथा व्यवस्थापनको कामका क्रममा विद्युत् कटौती गर्नुपरेको जनाएको छ । मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्ने जनाउँदै प्राधिकरणले उपभोक्तामा पर्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।