काठमाण्डौ । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ७१४ गाउँ प्रभावित भएका छन्। चक्रवातसँगै आएको तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न क्षेत्रमा घर, विद्युत् संरचना र कृषिबालीमा क्षति पुर्याएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार चक्रवातका कारण कम्तीमा ३० वटा घरमा क्षति पुगेको छ। विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन्। तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन्।
चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको हो। भारतीय मौसम विज्ञान विभागका अनुसार अर्नब काकीनाडानजिकै जमिनमा प्रवेश गरेको थियो। उक्त क्षेत्र यानमको दक्षिण तथा बापटला र विशाखापट्टनमबीच पर्छ।
चक्रवातको प्रभाव आन्ध्र प्रदेशसँगै ओडिशाका दक्षिणी जिल्लामा पनि देखिएको छ। ती क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भइरहेको जनाइएको छ।
आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ।
जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै
अर्नबको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ।
जमिनमा प्रवेश गरेसँगै चक्रवात क्रमशः कमजोर हुँदै गएको छ। सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीमा रहेको प्रणालीलाई घटाएर ‘भीषण चक्रवाती आँधी’मा झारिएको छ।
दिउँसोसम्म यो अझ कमजोर भएर सामान्य चक्रवाती आँधी र साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ।
नेपालमा पनि प्रभाव पर्ने
चक्रवात अर्नबको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने भएकाले यहाँको मौसममा पनि असर पर्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातसँग सम्बन्धित बादल माथिल्लो वायुमण्डलीय प्रणालीसँग मिसिएपछि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्छ।
मौसमविद् बिनु महर्जनका अनुसार यसको प्रभावको संकेत बुधबारदेखि नै देखिन थाल्नेछ। बिहीबार रातिदेखि भने उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य भूभागमा वर्षाको सम्भावना बढ्नेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने अनुमान छ। एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना पनि रहेको मौसमविद्को भनाइ छ।
मौसमविद्ले उच्च हिमाली क्षेत्रमा तत्काल यात्रा नगर्न, पहिल्यै पुगेकाहरूलाई सुरक्षित स्थानतर्फ झर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।