काठमाण्डौ । चाडपर्वसँगै जाडोयाम सुरु भएपछि बजारमा माग बढ्दा अण्डाको होलसेल मूल्य बढाइएको छ।
नेपाल लेयर्स कुखुरापालक संघले एक्सएल, ठूलो र मिडियम अण्डाको समर्थन मूल्य प्रतिपेटी २०० रुपैयाँ तथा सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँले बढाएको हो। नयाँ मूल्य पोखरामा बसेको संघको बैठकले तय गरेको हो।
यसअघि कात्तिक ६ गते काठमाडौंमा बसेको बैठकले अण्डाको समर्थन मूल्य निर्धारण गरेको थियो। तर बजारमा माग बढेपछि ६ दिनमै उक्त मूल्य परिमार्जन गरिएको संघका अध्यक्ष विनोद पोखरेलले बताएका छन्।
नयाँ मूल्यअनुसार १४.५ देखि १४.८ किलो तौलको एक्सएल अण्डाको समर्थन मूल्य प्रतिपेटी ३ हजार ७०० रुपैयाँबाट बढेर ३ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै १३.५ देखि १३.८ किलो तौलको ठूलो अण्डाको मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ पुगेको छ।
१२.५ देखि १२.८ किलो तौलको मिडियम अण्डाको समर्थन मूल्य ३ हजार ५०० रुपैयाँबाट ३ हजार ७०० रुपैयाँ कायम गरिएको छ।
सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार १०० रुपैयाँबाट बढाएर ३ हजार २०० रुपैयाँ पुर्याइएको छ।
होलसेल तथा फार्म मूल्य बढे पनि तत्काल उपभोक्ता मूल्य भने यथावत राखिएको छ। ठूलो अण्डाको खुद्रा मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डाको दुईवटाको ४५ रुपैयाँ कायम गरिएको संघले जनाएको छ।
संघका अनुसार चाडपर्वसँगै चिसो मौसम सुरु हुँदा अण्डाको खपत बढेको छ। मागमा आएको यही वृद्धिलाई आधार बनाएर उत्पादक तहको मूल्य समायोजन गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।