काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांशको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य गिरावट आएको छ। यस अवधिमा १० बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।
सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ। बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्।
एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यसैगरी, गत वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड रुपैयाँ नाफामा फर्किएको छ। लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकको नाफा पनि दोब्बरभन्दा बढीले बढेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।