काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २० दिन अवधिका लागि आज उक्त रकम बराबरको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो ।
यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिनेछ ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि अधिकतम २ खर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा उपकरण बाँडफाँट गरिनेछ । समान ब्याजदरमा माग बढी भएमा समानुपातिक रूपमा बाँडफाँट हुनेछ ।
यसरी संकलित निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त निक्षेपलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।