काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार तीन घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन रोक्न लागिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डको जानकारीअनुसार सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द हुनेछ।
निर्माण कार्यलाई सुरक्षित र सहज रूपमा सम्पन्न गर्न केही समयका लागि सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।
प्रशासनले सो अवधिमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा योजना बनाउन र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न पनि अनुरोध गरिएको छ।
पृथ्वी राजमार्ग काठमाण्डौलाई देशको पश्चिम तथा मध्य भागसँग जोड्ने प्रमुख सडकमार्ग भएकाले तीन घण्टाको बन्दले सवारी चाप तथा यात्रामा असर पर्न सक्ने देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।