काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालले विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साउन, भदौ र असोजमा गरी विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
असोज महिनामा मात्रै नेपालले भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरेको छ। यसबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको मन्त्रालयले जनाएको छ।
यसैबीच भारततर्फ विद्युत् निर्यात गर्ने नेपालको क्षमता पनि थप बढेको छ। भारतबाट थप ३१ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएसँगै कुल स्वीकृत निर्यात क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
नेपालले वर्षायाममा आन्तरिक खपतपछि बचत हुने विद्युत् भारतको प्रतिस्पर्धी बजारमा बिक्री गर्दै आएको छ। पछिल्लो स्वीकृतिले आगामी दिनमा थप विद्युत् भारतीय बजारमा पठाउने बाटो खुलेको छ।
यस्तै बाढीका कारण केही समय रोकिएको बङ्गलादेशतर्फको विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। नेपालले बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् पठाउन थालेको मन्त्रालयले जनाएको छ।
भारततर्फ निर्यात क्षमता विस्तार र बङ्गलादेशतर्फको बिक्री पुनः सुरु भएसँगै नेपालको विद्युत् निर्यात बजार थप फराकिलो बन्दै गएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।