काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating एक तह स्तरोन्नति भएको छ।
कम्पनीको यसअघिको [ICRANP-IR] AA− रेटिङ बढेर [ICRANP-IR] AA पुगेको हो। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था सोल्भेन्सी प्रोफाइल लगानी संरचना तथा प्रतिफल बजार उपस्थिति सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कनपछि रेटिङ स्तरोन्नति गरेको हो।
इक्राका अनुसार ‘AA’ रेटिङले संस्थाको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता उच्च रहेको र क्रेडिट जोखिम अत्यन्त न्यून रहेको संकेत गर्छ।
नेपाल लाइफको वित्तीय सबलता पछिल्लो अवधिमा थप मजबुत बनेको देखिएको छ। कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ। यो नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो।
कम्पनीले लगानी संरचनामा समेत सुधार गरेको छ। मुद्दती निक्षेपमा रहेको लगानी एकाग्रता घटाउँदै सरकारी सुरक्षण लगायतका क्षेत्रमा लगानी विस्तार गरी पोर्टफोलियोलाई थप विविधीकृत बनाइएको छ।
आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। सो अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब रुपैयाँ पुगेको छ भने पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ।
सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले जुलाई २०२६ मध्यसम्म देशभर १९६ शाखा उपशाखा तथा क्षेत्रीय कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ। इक्राले कम्पनीको देशव्यापी शाखा सञ्जाल बलियो अभिकर्ता संरचना अनुभवी व्यवस्थापन र बजार उपस्थितिलाई मुख्य सबल पक्षका रूपमा औंल्याएको छ।
जोखिम व्यवस्थापनतर्फ पनि कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्ससँग पुनर्बीमा व्यवस्था कायम गरेको छ। आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि कम्पनीसँग करिब १ अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोष रहेको छ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रेटिङ स्तरोन्नतिलाई कम्पनीको निरन्तर वित्तीय सुधार संस्थागत सुशासन र सरोकारवालाको विश्वासको परिणाम भएको बताएका छन्।
कम्पनीले आगामी दिनमा सोल्भेन्सी अवस्था थप सुदृढ बनाउने लगानी विविधीकरण गर्ने तथा जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने रणनीति अघि सारेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।