काठमाण्डौ । नेपाल टेलिकमले पछिल्लो समय कम्पनीको खरिद प्रक्रियासम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाएको छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा खरिद प्रक्रियासम्बन्धी केही समाचारलाई ‘भ्रामक र अपुष्ट’ भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रिया कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको स्ट्यान्डर्ड बिड डकुमेन्टका आधारमा सञ्चालन हुँदै आएको स्पष्ट पारेको छ।
कम्पनीले लागू कानुन, नीति तथा सुशासनका मूल्य–मान्यताअनुसार काम गर्दै आएको दाबी गर्दै खरिद प्रक्रिया पनि सोहीअनुसार अघि बढाइने जनाएको छ।
नेपाल टेलिकमले समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक विवरण लिन सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ। कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखाबाट आवश्यक विवरण सहज रूपमा उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले सस्तो र भरपर्दो दूरसञ्चार सेवा देशभर उपलब्ध गराउने, नयाँ प्रविधि अपनाउने तथा सेवाको गुणस्तर सुधार गर्ने कामलाई प्राथमिकतामा राखेको जनाएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा भ्रामक समाचार सम्प्रेषण नगरी कम्पनीको प्रतिष्ठा, विकास र संस्थागत हितमा सहयोग गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।