काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेटेर अटोलोन र आयर पर्चेज कर्जामा लचक नीति ल्याउन आग्रह गरेको छ ।
नाडाका नवनिर्वाचित अध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखापरेका विभिन्न समस्याहरुबारे संक्षिप्त रुपमा चर्चा गर्दै अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्न, बैंकहरुबाट निजी सवारीका लागि प्रवाह हुने हायर पर्चेज लोनको लोन टू भ्यालू रसियो अहिलेको ५० प्रतिशतलाई बढाएर ७५ प्रतिशत कायम गर्न माग गरे ।
यस्तै, चालु पूँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधन गरिनुपर्ने तथा भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा चौधरीले जोड दिएका थिए ।
भेटका क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेण्टेशन पनि दिएका थिए ।
सो छलफलमा प्रधानमन्त्री दाहालले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गर्ने वचन दिएका थिए ।
छलफलमा नाडाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पनि सहभागिता थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                