काठमाण्डौ । युनिलिभर नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्ने क्रम आज पनि जारी रहेको छ । आज पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
योसँगे कम्पनीको सेयरमूल्य लगातार दुई दिन १० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो दिन पनि कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिका साथ पोजेटिभ सर्किट लागेको थियो ।
आज कम्पनीले प्रतिकित्ता सेयरमूल्य ४४ हजार १५० रुपैयाका साथ कारोबारको थालनी गरेको थियो । कारोबार खुलेसँगै कम्पनीको सेयरमूल्यमा तीव्र वृद्धि देखिएको थियो । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ हजार ३२८ रुपैयाँ अर्थात १० प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता ४७ हजार ६१४ रुपैयाँ पुगेको छ । यो मूल्य कम्पनीको हालसम्मकै उच्च हो । कम्पनीको ५२ हप्ताको उच्च मूल्य प्रतिकित्ता ४५ हजार १५१ रुपैयाँ र न्यून मूल्य प्रतिकित्ता ३० हजार रुपैयाँ रहेको छ ।
कम्पनीको सेयरमूल्य २०२३ को जनवरीमा प्रतिकित्ता १८ हजार रुपैयाँ थियो । यस हिसाबले कम्पनीको सेयरमूल्य डेढ वर्षको अन्तरालमा २.६१ गुणाले बढेको छ ।
नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रतिकित्ता मूल्य भएको युनिलिभरले गत मंगलबार आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याएको थियो ।
कम्पनीको यो निर्णयको प्रभाव स्वरुप कम्पनीको सेयरमूल्य निरन्तर उकालो लागिरेहेको छ । अधिकृतपूँजीसँगै कम्पनीले चुक्तापूँजी पनि बढाउन खोजेको र यो क्रममा बोनस सेयर दिनसक्ने आँकलनका साथ लगानीकर्ता युनिलिभरप्रति आकर्षित भएका छन् ।