काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ३.७९ अंकले बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ३७२.८५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार प्रेम वली भन्छन्, ‘अहिले बजार राजनीतिक सेरोफेरोमै चलेको छ । आज फेरी राजनीति सहज हुने अपेक्षाले घटेको बजारमा सुधार आएको छ । कारोबारमा पनि बढोत्तरी आएको छ । असार मसान्तको दबाव पनि कम हुँदै गएको छ ।’
यसका साथै मौद्रिक नीति पनि लचक आउने अपेक्षाका कारण बजार आज पुनः २१ सय माथि पुगेको वलीले बताए ।
सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेका अनुसार पनि लगानीकर्ताले वर्तमान बदलिदो राजनीतिक अवस्थाले स्थिरता ल्याउने अपेक्षा गरेसँगै बजारमा सुधार आएको हो । ‘प्रधानमन्त्रीले केहि दिनमा नयाँ सरकारका लागि सहजीकरण गरिदिने र छिट्टै एमालेको अर्थमन्त्री हुने देखिन्छ ।’ उनले भने ।
यहि कारण आज करेक्सन भएको बजार कारोबारसहित सम्हालिएको फुल्लेलले बताए । यो सँगसँगै अब आर्थिक गतिविधि पनि चलायमान हुने र मौद्रिक नीति पनि सहज आउने उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ८ वटा समूहमा भने रातो पोतियो ।
आज व्यापार समूहमा चमक आएको छ । यो समूह आज ६.१२ प्रतिशतले बढ्यो । आज वित्त समूह ६.०४ प्रतिशत बैंकिङ समूह ०.६३ प्रतिशत विकास बैंक २.७१ र लगानी समूह ०.१८ प्रतिशतले बढ्यो ।
आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह १.०७ प्रतिशतले घट्यो ।
त्यस्तै आज होटल समूह ०.१९,हाईड्रो ०.६८,जीवन बीमा ०.२५,लघुवित्त ०.१४,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.६७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन मन्जुश्री फाइनान्सको सबैभन्दा धेरै सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड १ लाख बढीको सेयर कारोबार भयो । साथै आज आईसीएफसी फाइनान्सको १७ करोड ४९ लाखको,रिलायन्स फायनान्सको १६ करोड ५२ लाख र सेन्ट्रल फाइनान्सको १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स,आईसीएफसी फाइनान्स,गुहेश्वरी मर्चेन्ट र मन्जुश्री फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।
आज चिरख्वा हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.७० प्रतिशतले घट्यो । हिमालयन उर्जाको सेयरमूल्य आज ४.२७ प्रतिशत र बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ३.९६ प्रतिशतले घट्यो ।