काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनबाट वितरण भएको नुन बढी मूल्यमा नबेच्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ। अधिकतम मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री भइरहेको जन-गुनासो आएको भन्दै विभागले बढी मूल्यमा नबेच्न व्यवसायीलाई आग्रह गरेको हो।
बढी मूल्यमा बेचेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिने बुधबार विभागले एक विज्ञप्ति जारी गरी चेतावनी दिएको छ।
नुन जस्तो अत्यावश्यक वस्तु बढी मूल्यमा बेचे दुईदेखि तीन लाख रूपैयाँ जरिवाना गरिने छ,विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साल्ट ट्रेडिङले गत मंगलबारबाट लागु हुने गरी नुनको मूल्य बढाएको थियो।
मूल्य बढाएसँगै आयो नुन एक किलो प्याकेटको थोक मूल्य २३ रूपैयाँ भएको छ। त्यस्तै, उपभोक्ता मूल्य अब २६ रूपैयाँ पर्नेछ।
न्यू–शक्ति नुनु एक किलोको थोक मूल्य १७ रूपैयाँ र उपभोक्ता मूल्य २० रूपैयाँ कायम भएको छ। भानु नुनु एक किलोको मूल्य नौ रूपैयाँ तोकिएको छ।