शनिबार, भाद्र ७,२०८२ 04:42:32
  • शनिबार, भाद्र ७,२०८२ 04:42:32
Global IME Bank Limited

कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा

Hyundai Nepal
कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा
Shivam Cement

काठमाण्डौ । संसदको अर्थसमितिको बैठकमा एमालेका सांसदहरु पूँजीबजारको पक्षमा र कांग्रेसका सांसदहरु विपक्षमा देखिएका छन् ।

एमालेले पूँजीबजारमा आएको उत्साहलाई आफ्नो दलको नेतृत्वमा बनेको सरकारप्रति लगानीकर्ताले व्यक्त गरेको विश्वासको रुपमा अपनत्व ग्रहण गरेर बजारलाई अझ चलायमान बनाउन खोजिरहेको बेला कांग्रेसका सांसदहरु भने लगातार प्रहार गरिरहेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारमै सहभागी भएको कांग्रेसले आफ्ना सांसदहरु परिचालन गरी उछालको गतिमा बढिरहेको पूँजीबजारको विषयमा नकारात्मक टिप्पणी गरिरहेको छ । यसले एकातिर कांग्रेसले एमाले नेतृत्वको सरकार बनेपछि उत्साह आएको बजारलाई रोक्ने चाहना राख्छ कि भन्ने आशंका जन्माएको छ भने अर्कोतर्फ हाल बनेको गठबन्धन नै फेरि यिनै कारणहरुबाट धरमरमा पर्ने त होइन भन्ने सशंय समेत पैदा हुनसक्छ ।  

अहिले एमालेले सरकारको नेतृत्व गरेको भए पनि मूलतः कांग्रेस र एमालेकै सरकार हो । एमालेले अर्थमन्त्रालयको बागडोर सम्हाले पनि यो सरकार सफल हुँदा र सरकारले पूँजीबजारमार्फत जगाएको आशा क्रमैसँग अन्यत्र समेत सर्ने हो भने सुस्त अर्थतन्त्र चलायमान बन्नसक्छ । यसको क्रेडिट एमालेले मात्र नभई कांग्रेसले समेत पाउने अवस्था बन्छ ।  

तर, यति सामान्य विषयमा समेत सुझबुझ नराखी कांग्रेसका जिम्मेवार सांसदहरु संसद बैठक र कतिपय सार्वजनिक समारोहमा समेत पूँजीबजारप्रति निरन्तर प्रहारमा लागिरहेका छन् ।  

केही दिनअघिदेखि नै कांग्रेसबाटै अर्थमन्त्री बनिसकेका डा. प्रकाशशरण महतले पूँजीबजारमाथि निरन्तर प्रहार गरिरहेका छन् । बजारलाई अनावश्यक र अप्राकृतिक ढंगले बढाइएको भन्दै यसबाट सोझाहरु डूब्ने आशयसहितको अभिव्यक्ति उनले निरन्तर दिइरहेका छन् । डा. महत तिनै व्यक्ति हुन्, जसले आफू अर्थमन्त्री हुँदा सल्लाहकारहरु परिचालन गरी बजारलाई दौडाउने चाहना राखेका थिए । तर, उनले लाखौं कोशिश गर्दा समेत गभर्नर महाप्रसाद अधिकारीसँग कुरा नमिलेपछि आफ्नो कार्यकालमा पूँजीबजारलाई अलटाइम हाईमा पुर्याउने उनको सपना अधूरै बनेको थियो ।  

सायद त्यही सपना पूरा नभएका कारण उनले पछिल्लो समय बढिरहेको सेयर बजारप्रति कुदृष्टि लगाएका हुनसक्ने लगानीकर्ताहरु दाबी गर्छन् ।  

बजारका सक्रिय लगानीकर्ता निमाकान्त ढकालले बिजशालासँग भने–‘आफूले त्यही काम गर्दा सुधार हुने र जश पाउने, तर अर्को दलको नेता अर्थमन्त्री हुँदा उसको लोकप्रियता बढेको देखेर डा. महतले रीस गरेको प्रष्टै देखिन्छ । सेयर बजारमा सोझा लगानीकर्ता फस्नुहुँदैन भन्ने कुरा ठीक छ । यसका लागि हल्ला गर्नुभन्दा नियामकहरुलाई त्यस्तो पोलिसी र मेकानिजम बनाउन पो भन्ने हो त सांसदहरुले । तर, यहाँ त कोही कतैबाट परिचालन भएकै शैलीमा एकपछि अर्को प्रहार गर्ने काम भइरहेको छ । यो गलत छ ।’  

त्यसो त पूँजीबजारको विषयमा दुई दिनअघि डा. महत र अर्का सांसद अमरेशकुमार सिंहले बोलेको नकारात्मक विषयले मंगलबार सेयर बजारमा भारि गिरावट आएको थियो । तर, पूँजीबजारको विषयमा बुझ्दै नबुझेका सांसदले कसैले दिएको चिर्कटो पढेका विषय बाहिर आएपछि लगानीकर्ताले पुनः मनोबल बढाए र बजारले हिजो शानदार बाउन्स ब्याक गर्यो । सांसदहरुको लगातार प्रयास समेत असफल भएपछि कांग्रेसकै नेतृत्वमा रहेको संसदको अर्थसमितिलाई प्रयोग गरिएको प्रष्टै देखिन्छ ।  

कारोबार समयमै अर्थसमितिको चलखेल

सामान्यतया सेयर बजारमा कारोबार समयमा यसलाई प्रभाव पर्ने कुनै गतिविधि गर्नुहुँदैन । यो बजार र लगानीकर्ताको हितविपरीत कुरा मात्र होइन, कानूनको नजरमा अपराध समेत हो । तर, अर्थसमितिले पूँजीबजारको समस्या समाधान गर्ने, सोझालाई डूब्न नदिने भन्दै आज(बिहीबार) कारोबार समयमै बैठक राखेको छ। बिहान ११ बजेदेखि सुरु भएको बैठक हालसम्म पनि चलिरहेको छ ।  

अर्थसमितिको नेतृत्व कांग्रेस सांसद सन्तोष चालिसेले गरेका छन् । समितिको सदस्यमा पूँजीबजारको बढोत्तरीप्रति निरन्तर विरोध गरिरहेका डा. प्रकाशशरण महत पनि रहेका छन् । योजनाबद्ध ढंगले नै हिजो बढेको बजारलाई फेरि झार्न र बढिरहेको बजारमा ब्रेक लगाउने उद्देश्यले अर्थसमितिको बैठक डाकिएको देखिन्छ।

हुन त आजको अर्थसमिति बैठकमा एमालेका सांसदहरुले कारोबार समयलाई प्रभावित पार्न खोजिएको भन्दै संयोजक चालिसेको आलोचना गरे । एमाले सांसद सूर्य थापाले बैठकमा चालिसेले सेयर बजार प्रभावित पार्न खोजेको आरोप लगाए । ‘सामान्यतया बजार चलिरहेको बेला त्यसलाई प्रभावित पार्ने गतिविधि गर्नुभएन ।’ थापाले भने ।  

तर, चालिसले भने बजारको विकास र दिगोपनाकै विषयमा छलफल डाकिएको भन्दै लगानीकर्ता यही बैठककै कारण मनोबल गिर्ने अवस्थामा पुग्न नहुन जिकिर गरे ।  

सम्बन्धित समाचार :

संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'

 

 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.