काठमाण्डौ। राजधानीका बजारमा गोलभेँडाको मूल्य बढेको छ। कालीमाटी बजारको तथ्यांक अनुसार कालीमाटी बजारमा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका गोलभेँडा आउने गरेका कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
सोमबार ठूलो गोलभेँडाको प्रतिथोक मूल्य ९० रूपैयाँदेखि एक सय रूपैयाँ छ। त्यस्तै, सानो लोकल गोलभेँडाको मूल्य ५० देखि ६० रूपैयाँ र सानो टनेल गोलभेँडाको मूल्य ६० देखि ७० रूपैयाँ छ। अघिल्लो दिनको तुलनामा आज गोलभेँडाको मूल्य प्रतिथोक मूल्य २० रूपैयाँदेखि ३० रूपैयाँ बढेको छ।
आइतबार कालीमाटी बजारमा ठूलो गोलभेँडाको प्रतिथोक मूल्य ७० देखि ८० रूपैयाँ थियो। त्यस्तै, सानो लोकल गोलभेँडाको मूल्य २५ देखि ३५ रूपैयाँ र सानो टनेल गोलभेँडाको मूल्य ३७ देखि ४८ रूपैयाँ थियो। कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट १५ सय देखि १६ सय रूपैयाँ छ। हिजो प्रतिक्रेट ८ सयदेखि ९ सय रूपैयाँ थियो।
बजारमा गोलभेँडाको आपूर्ति कम भएसँगै मूल्य बढेको कालीमाटी बजारका गोलभेँडा व्यवसायीहरुले बताएका छन्। हाल बजारमा गोलभेँडा एकदमै कम आएको आएकाले मूल्य बढेको जनाइएको छ। भारतीय गोलभेँडा आएपछि मात्रै मूल्य घट्ने बताइएको छ।