काठमाण्डौ। यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको जनाएको छ।
विभिन्न चरणमा मूल्यांकन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेपछि यती एयरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो।
कम्पनीका अनुसार आएटाद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाणपत्र यतीको अन्तराष्ट्रियस्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो। उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ।
व्यापार विस्तार क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रु सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एयरलाइन्सले बताएको छ।
पछिल्लो समय यती एयरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्ड पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरेको जनाएको छ।
यती एयरलाइन्स निजी वायुसेवा कम्पनी हो ।