काठमाण्डौ। यस वर्ष देशभर करिब ९८% रोपाइँ सकिएको छ। देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
गत आर्थिक वर्ष साउनसम्म करिब ९०% मात्र रोपाइँ भएकामा चालू आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सकिएको हो। यस वर्ष देशभर राम्रो वर्षा भएकाले रोपाइँ पनि देशभर राम्रोसँग भएको जनाइएको छ।
धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत धान रोपाइँ गरिएको छ भने कोशी प्रदेशमा अन्य प्रदेशभन्दा कम ९५% रोपाइँ सम्पन्न भएको तथ्यांक छ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९% तथा मधेश प्रदेशमा सबैभन्दा कम ६०% रोपाइँ सम्पन्न भएको थियो।
आर्थिक वर्ष ०८०/८१ मा धान र चामल गरी २१ अर्ब ३४ करोडको आयात गरिएकामा आर्थिक वर्ष ०७९/८० मा ३५ अर्ब ९० करोडको आयात गरिएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा करिब १३ अर्बले आयात घटेको अभिलेख मन्त्रालयसँग छ। यस वर्ष करिब ६% ले धानको उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरिएको मन्त्रालयले जनाएको छ।