काठमाण्डौ। रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाईँकुण्डमा पहिलो पटक बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईँकुण्डमा शुक्रबार राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुर्याएको हो।
बत्ती पुगेसँगै गोसाईँकुण्ड क्षेत्र झिलिमिली भएको बताइएको छ। धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो।
अहिलेसम्म गोसाईँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्र उज्यालो बनाउने अभियान अन्तर्गत गोसाईँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए।