काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमकले चालु आवको दुई महिनासम्ममा ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाा बीमाशुल्क आर्जन गरेका हुन् ।
कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क गत आवको तुलनामा ९।३४ प्रतिशत बढी हो । गत आवको भदौ मसान्तसम्म निर्जीवन बीमकहरुले ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
भदौ महिनासम्म आइपुग्दा दुई निर्जीवन बीमक हिमालयन एभरेष्ट र प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीले गत आवको तुलनामा व्यवसाय उल्लेख्य रुपमा बृद्धि गरेका छन् ।
भदौमा सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले १ अर्ब १ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन यो गत आवको तुलनामा १०.६६ प्रतिशत बढी हो । गत आवमा सगरमाथा लुम्बिनीले ९१ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ८१ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरी दोस्रो स्थान ओगटेको छ । यता शिखर इन्स्योरेन्सले भने ७२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यसका साथै हिमालयन एभरेष्टले ६० करोड २३ लाख, नेको इन्स्योरेन्सले ५८ करोड ८९ लाख, आइजीआई प्रुडेन्सियलले ५८ करोड १ लाख, राष्ट्रिय बीम कम्पनीले ५४ करोड ५३ लाख, एनएलजी इन्स्योरेन्सले ४८ करोड १६ लाख, युनाइटेड अजोडको ४५ करोड ५१ लाख, दि ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३१ लाख, नेपाल इन्स्योरेन्सले ४३ करोड ७१ लाख, सानिमा जिआइसीले ३९ करोड ७० लाख, नेशनल इन्स्योरेन्सले ३७ करोड २६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
कुनको कति बढ्यो व्यवसाय ?
गत आवको तुलनामा यस वर्ष सर्वाधिक व्यवसाय बढाउनेमा भने नेपाल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले ८५.१४ प्रतिशतले व्यवसाय बढाएको छ । गत आवमा २३ करोड ६१ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको दुई महिनासम्ममा ४३ करोड ७१ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।
त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्सले पनि ३४.३२ प्रतिशतले व्यवसाय बढाएको छ भने नेशनल इन्स्योरेन्सले २३.९२ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ ।
यसका साथै एनएलजीले १२.२८ प्रतिशत, नेकोले ११.८७ प्रतिशत, सिद्धार्थ प्रिमियरले १०.७८ प्रतिशत, सगरमाथा लुम्बिनीले १०.६६ प्रतिशत, शिखरले ९.२१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीले ६.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ५.४७ प्रतिशत, सानिमा जिआइसीको ४.७९ प्रतिशत र युनाइटेड अजोडको ०.४८ प्रतिशतले व्यवसाय बढेको छ ।
यता प्रभु इन्स्योरेन्सको व्यवसाय २९.०१ प्रतिशत र हिमालय एभरेष्टको व्यवसाय ६.१९ प्रतिशतले घटेको छ ।