काठमाण्डौ । सुनको मूल्य दुई साताकै उच्च विन्दुमा पुगेको छ । आज अन्तर्राष्ट्रिय बजारमा १.४७ प्रतिशतले बढेसँगै सुनको मूल्य गत डिसेम्बर १६ पछिकै उच्च विन्दुमा पुगेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ३८ डलरले बढ्दै प्रतिऔंस २ हजार ६६२ डलरमा कारोबार भईरहेको छ । गत डिसम्ेबर १६ मा सुनको मूल्य २ हजार ६६९ डलर पुगेको थियो । सुन बजारका विज्ञहरुले सुनको मूल्य वृद्धि हुनुको पछाडि कुनै विशेष कारण नभएपनि वर्तमान विश्व राजनीतिक घटना र आर्थिक अनिश्चितताका कारण सुनको मूल्य वृद्धि भएको बताएका छन् ।
रुसले बुधबार युक्रेनको किभमा ड्रोन हमला गरेको थियो । जसका कारण किभ क्षेत्रको २ वटा जिल्लामा क्षति पुगेको छ ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउन सक्ने सम्भावनाका कारण समेत सुनको मूल्यवृद्धिलाई बल पुगिरहेको बताइएको छ ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज २.६९ प्रतिशत अर्थात ०.७८ डलरले बढेर प्रतिऔंस २९.६२ डलरमा कारोबार भईरहेको छ ।