काठमाण्डौ । चीनको वित्तीय नियामकले संकटग्रस्त सेयर बजारलाई उकास्न सरकारी स्वामित्वका म्युचुअल फण्ड र बीमा कम्पनीहरुलाई अझै धेरै सेयर खरिद गर्ने आह्वान गरेको छ । चिनियाँ नियामक ‘चाइना सेक्युरिटिज रेगुलेटरी कमिशन’ले ठूला सरकारी बीमा कम्पनीहरुलाई सेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानी बढाउन निर्देशन दिएको हो ।
नियामकले बीमा कम्पनीहरुलाई नयाँ संकलन भएको बीमा प्रिमियमको ३० प्रतिशत रकम सेयर बजारमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । ‘चाइना सेक्युरिटिज रेगुलेटरी कमिशन’का अध्यक्ष वु कुइङले यस्तो बताएका हुन् ।
यो पाइलट प्रोग्राम यो वर्षको पहिलो ६ महिनाभित्र सुरु हुनेछ । जसअन्तर्गत बीमा कम्पनीहरुबाट सेयर बजारमा १०० बिलियन युआन(१३.७५ बिलियन डलर)बराबरको लगानी हुनेछ । अध्यक्ष कुइङले यो कार्यक्रमले निरन्तरता पाउने तथा अझै विस्तार हुने र प्रत्येक वर्ष सेयर बिक्रीका लागि करोडौ युआन खर्च हुने अपेक्षा गरे ।
यस्तै म्युचुअल फण्डहरुलाई समेत आगामी ३ वर्षसम्मका लागि सेयर बजारमा १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तो व्यवस्था घोषणा भएसँगै चीनको सीएसआई३०० इन्डेक्स १.८ प्रतिशतले बढेको छ । गत वर्ष सीएसआई३०० मा १५ प्रतिशतको वार्षिक वृद्धि भएको थियो । यद्यपी इन्डेक्स गत वर्षको उच्च विन्दुबाट अन्त्यमा १२ प्रतिशतले घटेको थियो ।
चीनका १२ प्रतिशत बीमा कम्पनीहरुको लगानी सेयर बजारमा रहेको छ । सेयर बजारमा बीमा कम्पनीहरुको लगानी ४.४ ट्रिलियन युआनबराबर रहेको छ । सन् २०२३ को आँकडाअनुसार आधिन्दा बढी बीमकहरुको लगानी भने बोण्ड र बैंक निक्षेपमा रहेको छ ।