काठमाण्डौ । कार्यकालभरि विवाद, मुद्दा र कलङ्कै कलङ्कको भारी बोकेका राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘असफल कार्यकाल’ चैतमा सकिँदैछ । उनी त्यसअघि नै विदामा बस्नेछन् ।
कलङ्कै कलङ्कले भरिएको कार्यकाल सकिनुअघि गभर्नर अधिकारीले लगानीकर्ता र आम जनमानसमा राहात अनुभव हुनेगरी मौद्रिक नीतिको समीक्षा लचक गर्न लागेका छन् ।
राष्ट्रबैंकका केही उच्च अधिकारी र गभर्नरनिकट स्रोतहरुले यसको पुष्टि गरेका छन् । गभर्नरबाट बाहिरिएपछि पनि कलङ्कको भारी बोकिरहनुपर्ने पीरले पछिल्लो समय अधिकारी चिन्तित छन् । यसकारण आफ्नो कार्यकालभर मौद्रिक नीतिलाई कुनै पार्टी विशेषको स्वार्थअनुसार चलाएका र इगोबाट प्रेरित भई कतिपय नीतिहरु ल्याएका उनले लगानीकर्तालाई फोकसमा राखेर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई केही लचिलो बनाउनेछन् ।
गभर्नर अधिकारी सबैभन्दा बद्नाम सेयर बजारका ६० लाख लगानीकर्ता र तिनका प्रियजनमाझ छन् । उनलाई सेयर बजारका लगानीकर्ताले ‘आफूहरुको सम्पत्ति स्वाहा पार्ने खलपात्र’को रुपमा बुझ्छन् । यति मात्र होइन, सानादेखि ठूला लगानीकर्ताहरुमा पनि उनीप्रति सकारात्मक धारणा विकास हुन सकेन । हुँदा–हुँदा बैंकरहरु नै उनले लिएको नीतिबाट खुशी देखिँदैनन् ।
‘बिग मर्जर’को बेमौसमी बाजाको परिणाम अहिले मर्जरमा गएका बैंकहरुको वित्तीय अवस्थामा देखिइसकेको छ । उनले मर्जरको नाममा अँगालेको गलत नीतिले बैंकहरु समस्यामा फस्दै त्यसले अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारे पनि त्यसको अपजस बोक्न तयार छैनन् । ‘सिनर्जी’ ल्याउन ठूला बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको अनिवार्य उर्दी लगाएका उनको नीति कतिसम्म अव्यवहारिक र गलत थियो भन्ने कुरा मर्जरअघि राम्रो वित्तीय अवस्थाका बैंकहरुको मर्जरपछिको बेहाल अवस्थाबाट समेत बुझ्न सकिन्छ ।
यस्तै, आफ्नो कार्यकालका विभिन्न चरणमा बैंकहरुलाई अप्ठ्यारो बनाउने, आम्दानीको स्रोतहरु खुम्चाइदिने, अनावश्यक सूचकहरुमा अनावश्यक ढंगले कडाई गरिदिने लगायतका थुप्रै गलत काम उनले गरेका थिए । यसकारण बैंकिङ जगत पनि महाप्रसादको शीघ्र बहिर्गमन र अर्थतन्त्रलाई राम्ररी बुझेको तथा पोजिटिभ एटिट्यूड भएको नयाँ गभर्नरको व्यग्र प्रतिक्षामा देखिन्छ ।
सर्वत्र आलोचनाको पात्र भई कलङ्कहरु बोकेका गभर्नरले जाँदा–जाँदै सहानुभूति बटुल्ने उद्देश्यले मौद्रिक नीतिको समीक्षालाई लचक बनाउन लागेका स्रोतहरु दाबी गर्छन् ।
‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गभर्नरकै इच्छामा सेयर बजारका लागि राहात हुने व्यवस्थाहरु आउँदैछन् ।’ उच्च स्रोतले दाबी गर्दै भनेको छ–‘बैंक तथा वित्तीय संस्थाहरुले लोन दिने बाटो नपाइरहेको बेला सेयरधितो कर्जाको व्यक्तिगततर्फको क्यापमा लचक व्यवस्था आउँदैछ । मार्जिन लोनको जोखिमभार घटाइँदैछ ।’
बैंकरहरुको ठूलो समूहले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा गर्ने लगानीमा समेत लचक व्यवस्था हुनुपर्ने भनेर लविङ गरिरहेका छन् । त्यसप्रति पनि गभर्नर सकारात्मक बन्न थालेका छन् ।
माइक्रोफाइनान्सप्रति लिएको नीतिमा समेत लचक हुने उनले संकेत गरेका उनलाई भेटेका बैंकरहरु दाबी गर्छन् । ‘कार्यकाल सकिनै लाग्दा आउने समीक्षामार्फत उहाँले अत्यावश्यक कुराहरुमा हदैसम्मको लचक हुने संकेत गर्नुभएको छ ।’ अघिल्लो साता मात्र उनलाई भेटेका एक वाणिज्य बैंकका सीईओेले बिजशालासँग भने–‘सेयर बजारका लगानीकर्तालाई खुशी बनाएर विदा हुने समेत उहाँको मनाशय देखिन्छ । घरजग्गा व्यवसायीलाई पनि समीक्षामार्फत विशेष राहातको नीति आउँदै गरेको बुझेका छौं ।’
हुन त पछिल्लो समय गभर्नरलाई मौद्रिक नीतिमार्फत लचक व्यवस्था गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि निरन्तर दवाब दिइरहेका छन् । गभर्नरले आफ्ना कुरा नसुनेको गुनासो गर्ने पौडेलले प्रधानमन्त्री समेतलाई यो विषय भनिसकेका स्रोत दाबी गर्छ । प्रधानमन्त्रीको इनिसिएसनमा गभर्नरलाई सम्झाउने काम भइसकेको छ । यसकारण पनि पछिल्लो समय अर्थमन्त्री पौडेल मौद्रिक नीतिको समीक्षा लचक आउनुपर्ने भन्दै हिँडिरहेका छन् । विराटनगरमा जारी विराट एक्स्पोमा पुगेर पनि उनले मौद्रिक नीतिको समीक्षा लचक आउने भन्दै भाषण नै गरे । यसरी अर्थमन्त्री पौडेलले समेत गभर्नरको तयारीतर्फ संकेत गरिरहेका छन् ।
गभर्नर अधिकारीले आफूले अर्थतन्त्रको बाह्य क्षेत्र जोगाएर मुलुकलाई श्रीलंका बन्न नदिएको दाबी गर्दै आफ्नो कार्यकाल सफल भएको बताउने गरेका छन् । तर, आन्तरिक अर्थतन्त्रको चौपट अवस्थाको सुधारमा भने उनले सरकारलाई कुनै पनि सहयोग गर्न सकेनन् । सरकारको प्रमुख आर्थिक सल्लाहकार भए पनि उनले आफ्नो कार्यकालमा राजनीतिक लाइनका आधारमा इगो साँध्ने र फरक आस्था राख्ने अर्थमन्त्रीहरुलाई असहयोगको नीति लिए । सरकारका नीतिहरुमा हरप्रकारको सपोर्ट गर्नको साटो केन्द्रीय बैंकको नेतृत्वमा बसेर राजनीति गरे । दलको कार्यकर्ताजस्तो भएर प्रस्तुत भए । यस्ता अनेकौ अबगालका ठूला भारी बोकेर उनी बिदा हुँदैछन् ।