काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीको खुद नाफा २२.४९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.४० प्रतिशतले कम हो । यो अवधिमा कम्पनीको अन्य आम्दानी भने बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ११ लाख ४० हजार रुपैयाँ रहेको अन्य आम्दानी बढेर ९९ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीले २८ लाख ८२ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ ।
कम्पनीको प्रशासनिक तथा साधारण खर्च ७७ लाख ३८ हजार, वित्त खर्च ४ करोड ६८ लाख र हा्रसकट्टी खर्च १ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ८३ करोड ५० लाख र कुल चालु दायित्व १४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५ गुणा र तरलता अनुपात ५.७९ प्रतिशत कायम भएको छ ।