काठमाण्डौ । रायन इनर्जी प्रालिले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । नेपालका अग्रणी नविकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापित दुई, तीन तथा चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकिकृत गर्ने तथा नेपालको यातायत क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित यो कम्पनीले आव २०८२/८३ भित्र आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
यसैबीच संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक सेयर निष्कासनसम्बन्धी सेवाको लागि कम्पनी र ग्लोबल आइएमई क्यापिटलबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आज माघ २९ गते काठमाण्डौको नारायण चौर नक्सालस्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चालक दिपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो कम्पनी विसं २०७७ साल पुस महिना १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रालि कम्पनीको रुपमा दर्ता भएको थियो । यसको केन्द्रीय कार्यालय बाग्मती नगरपालिका वडा नं. १२ सर्लाहीमा रहेको छ । यसको सम्पर्क कार्यालय काठमाण्डौकोदरबारमार्गमा रहेको छ । यस कम्पनीले मिति २०७८ साल पुस ५ गते उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक साधनहरु (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो।
यो संस्था विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका सक्रिय उत्साही व्यवसायीहरुको समूहद्वारा स्थापित व्यवसायिक संस्था हो । यस समूहले एसेम्बली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा शहरी विद्युतीकरणको साथै सौर्य सिचाई, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ ।
कम्पनीले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिएको छ । यस कम्पनीमा नविकरणीय ऊर्जा क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                