काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १९.५६ अंकले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४५३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
गत बिहिबार ७ अर्ब ९२ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले बजारमा एक्युमुलेशन चलिरहेको छ । बजार हाल बुलिस नै छ र आजको बढोत्तरी पनि त्यसैको निरन्तरता हो । अहिले ब्याजदर न्यून हुनु, तरलता फालाफाल हुनु र नयाँ गर्भनर आउदै गरेकाले बजारमा बुलिस लयमा रहेको छ । ’
अहिलेको बजारमा जोखिम कम प्रतिफल उच्च रहेको र यसलाई दैनिक ७–८ कारोबार हुनुले एक्युमुलेशन चलेको पृष्टि गरेको उनले बताए ।
अर्का बजार जानकार दोमोदर गजुरेलले पनि बजारमा एक्युमुलेशन चलेको बताए । ‘संसद चल्दै गर्दा सरकारको स्थायित्व बढ्दै जानु, आर्थिक सुधार हुनु जस्ता विषयले कुनैपनि बेला बजारले राम्रो गति लिने देखिन्छ । यद्यपी लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पखाईमा समेत रहेका छन्, ’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ४.९४ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.९८ प्रतिशत, विकास बैंक ०.०८, होटल १.९५, हाईड्रो ०.३६,लगानी १.१७,जीवन बीमा ०.३९,उत्पादन तथा प्रशोधन ०.२०,लघुवित्त १.८६, अन्य ०.३८ र व्यापार समूह ०.२५ प्रतिशतले बढ्यो ।
आज म्युचुअल फण्ड र निर्जीवन बीमा समूह मात्रै घटे । यी समूहहरु आज क्रमशः०.११ र १.२८ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ५४ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङ्ग्सको पनि आज ३१ करोड ३८ लाख,हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख,न्यादी हाईड्रोपावरको २२ करोड ४ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,गुँरास लघुवित्त,नेपाल फाइनान्स,जानकी फाइयनान्स,गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
गोर्खाज फाइनान्सको सेयरमूल्य पनि आज ८.७८ प्रतिशत,पिपुल्स हाईड्रोपावरको ७.९१ र गुडविल फाइनान्सको सेयरमूल्य ७.८१ प्रतिशतले बढ्यो ।
न्यादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । एनएलजी इन्स्योरेन्सको सेयरमूल्य पनि आज ९.५५ प्रतिशत र बाराही हाईड्रोको सेयरमूल्य ७.४१ प्रतिशतले घट्यो ।