काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बीमा ऐन, २०७९ बमोजिम प्राधिकरणको अध्यक्ष बन्न अनुभव नपुगेको सन्दर्भमा उनीविरुद्ध उजुरी परेको हो ।
उजुरीमा ओझाले बुझाएका कागजात छानबिन गरी कारबाही गर्न माग गरिएको छ । प्राधिकरणको अध्यक्ष बन्न सम्बन्धित क्षेत्रमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान रहेकोमा ओझाले झुटा विवरण र कागजात बुझाएर सरकारलाई ढाँटेको विरुद्धमा आज उजुरी परेको हो ।
ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभवसहितको कागजात कागजात पेश गरेका थिए । अध्यक्ष ओझाले बुझाएका कागजातहरुको सत्यतथ्य जाँच गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउन उजुरीकर्ता दिपेन्द्र बोहराले आइतबार आयोगमा उजुरी दिएका हुन् ।
साथै बोहराले समितिमा संयोजकको रुपमा काम गरेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी, अर्थसचिव, विज्ञ सदस्य ज्योतिन्द्र ओझा र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखाका अधिकारीहरुलाई कारबाही गर्न माग समेत गरेका छन् ।
मन्त्रिपरिषदको फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो । अध्यक्ष ओझा यसअघि क्लिकमाण्डु डटकमका विशेष संवाददाता थिए । क्लिकमाण्डुले बुझाएको दरबन्दी सम्बन्धि विवरण मगाएर अध्ययन गर्दा सत्यतथ्य उजागर हुने अवस्था देखिएपछि उनीविरुद्ध उजुरी परेको स्रोतले जनाएको छ ।