काठमाण्डौ । सेयरबजारमा हाइड्रो समूहको सर्वाधिक सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा हाइड्रो समूहको मात्रै ४ खर्ब ३३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
हाइड्रो समूहको यो कारोबार गत आवको सोही अवधिसम्मको तुलनामा ३२४.९५ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा हाइड्रो समूहको १ खर्ब २ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा कुल ९१ वटा हाइड्रो कम्पनी सूचीकृत छन् । नेप्सेमा हाइड्रो कम्पनीहरु धेरै भएकाले पनि लगानीकर्ताहरुको सेयर कारोबारको रोजाइमा हाइड्रो समूहकै कम्पनी पर्दछन् । यसकारण पनि उक्त समूहको सेयर कारोबार रकम धेरै भएको हो ।
साथै दोस्रो बढी फाइनान्स समूहको सेयर कारोबार भएको छ । फाइनान्स कम्पनीहरुको कुल १ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो रकम गत आवको तुलनामा १००४।३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स समूहको १२ अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
त्यस्तै, वाणिज्य बैंक समूहको १ खर्ब ३२ अर्ब १३ करोड, विकास बैंक समूहको १ खर्ब १० अर्ब, माइक्रोफाइनान्स समूहको ८९ अर्ब १२ करोड, इन्भेष्टमेन्ट समूहको ८५ अर्ब ६९ करोड, लाइफ इन्स्योरेन्स समूहको ६७ अर्ब १० करोड, नन लाइफ इन्स्योरेन्स समूहको ५३ अर्ब ४४ करोड, उत्पादन तथा प्रशोधन समूहको ५१ अर्ब ९१ करोड, होटल तथा पर्यटन समूहको २५ अर्ब ७७ करोड, व्यापार समूहको ४ अर्ब ५१ करोड र म्युचुअल फण्ड समूहको ३ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
गत आवको तुलनामा सर्वाधिक फाइनान्स समूहको सेयर कारोबार बृद्धि भएको छ । सेयरबजारमा यो समूहका केही कम्पनीको निकै चर्चा चलेको थियो । बजारमा फाइनान्स सेक्टरका कम्पनीहरु लो क्याप अन्तर्गत पर्ने भएकाले पनि यो समूहमा लगानीकर्ताको आकर्षण देखिन्छ । वेष्ट फाइनान्स, नेपाल फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्स जस्ता कम्पनीहरुको सेयरमूल्यलाई उचाल्ने जस्ता गतिविधि समेत भएको थियो । यसकारण यो सेक्टरको सेयर कारोबार सर्वाधिक बृद्धि देखिएको हो ।
