काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ । जसमा नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृतको नाम आउट भएको देखिएको छ ।
नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पनि पुनः सोही पदमा आवेदन दिएकोमा उनको नाम सर्टलिस्टमा नपरेको हो । सीइओ कार्कीको कार्यकाल असफल भएको र उनले कार्यकालभरि बजार सुधार तथा नेप्सेको आन्तरिक प्रणाली व्यवस्थापनमा समेत असफलता प्राप्त गरेका टिप्पणी हुँदै आएको छ । पुनः सीईओ हुने चाहना राखेर उनले आवेदन दिए पनि सर्टलिस्टमै उनको नाम नपरेको हो ।
उनी तत्कालीन अर्थमन्त्री वर्षमान पुनको खास जोडबलमा नेप्सेको सीईओ बनेका थिए । माओवादीको सरकार ढलेसँगै उनको पुनः नेप्सेमा फर्किने योजना तुहिएको हो ।
तत्कालीन सीईओ कार्कीको नाम नसमेटिएको सर्टलिस्टमा नेप्सेकै सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडका तत्कालीन सीईओ पूर्णप्रसाद आचार्यको नाम पनि समेटिएको छ ।
सर्टलिस्टमा पर्ने अन्य नामहरुमा चूडामणि चापागाईं, नारदकुमार लुईँटेल, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेको छ ।
नेप्सेको सीईओ पदका लागि आवेदन दिएकाहरुको शैक्षिक योग्यता र व्यवसायिक कार्य योजनाको मूल्याङ्कनका क्रममा सबैभन्दा बढी अंक प्राप्त गरेका ५ जनाको नाम सर्टलिस्टमा राखिएको नेप्सेको सीईओ पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले जनाएको छ ।
को बन्ला नेप्सेको सीईओ ?
सर्टलिस्टमा परेका पाँचजनालाई चैत ६ गते बुधबार बिहान ७ बजेदेखि व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।
प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा सिफारिस समितिले ५ मध्येबाट तीनजनाको नाम छनौट गरी सरकारलाई सिफारिस गर्नेछ । त्यसपछि सरकारले तिनै तीन नाममध्येबाट एकजनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ ।
उच्च स्रोतहरुका अनुसार सरकारलाई सिफारिसमा पर्नसक्ने तीन सम्भावित नामहरुमा पूर्णप्रसाद आचार्य, हेमन्त बस्याल र नारदकुमार लुइँटेल रहेको छ । यी तीनमध्येबाट पनि नेप्सेको आगामी सीईओमा आचार्यले बाजी मार्नसक्ने प्रवल सम्भावना छ।
