काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ५ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।
बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता,सीआईटीको ५० हजार कित्ता,निफ्राको १० लाख कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र जीवन विकास लघुवित्त २ लाख ८७ हजार ८४२ कित्ता गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले आगामी चैत १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँ, सीआईटीको ६९६ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ निर्धारण गरिएको छ ।
बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सीआईटीको सेयर खरिद गर्दा न्यूनतम १० हजार कित्ता र अन्य कम्पनीहरुको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथली ट्रेड टावरस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।