काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज पनि हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरु पुगेर बजारको पछिल्लो अवस्थाको विषयमा बुझेका छौं । आज हामीले लगानीकर्ता र ब्रोकर सञ्चालकहरुसँग पनि अनौपचारिक रुपमा बजारको विषयमा बुझ्ने प्रयास गरेका छौं ।
सबैभन्दा पहिले आज हामी कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) का मा पुगेका थियौ । आज बिहानैदेखि बजार सामान्य अंकले घटेर कारोबार भएको थियो । यस ब्रोकरमा उपस्थित लगानीकर्ताहरु बजार किन घटेको भन्ने बिषयमा अन्यौलमा रहेका देखिन्थे । केही लगानीकर्ताले आज बजार घट्नुको मुख्य कारण राजनीतिक कारण भन्दै थिए भने केहीले चैत्र महिनाको प्रभाव बताउँदै थिए ।
यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता भने बजारप्रति खासै आशावादी देखिएनन् । उनले भने, ‘खेलाडीले नयाँ गभर्नरका आउने हौवा फैलाँउदै बढाएको बजारमा करेक्नस आएको छ ।’ उनले थप्दै भने, ‘आज एचआरएल र एनआरआसी घटको छ । त्यही कारण पनि बजार घटेको हो ।’ तर उनी सँगै बसेका लगानीकर्ताले गभर्नर आउँदा र जाँदा बजार प्रभावित हुनुपर्ने कुनै कारण नरहेको बताए ।
‘गभर्नरको विषयले भन्दा पनि आन्दोलनको विषयले बजार घटेको देखिन्छ,’ उनले भने । यतिकैमा एक लगानीकर्ताले ठट्यौली पारामा अर्का एक लगानीकर्तालाई देखाउँदै भने, ‘यो साथिले रातो ज्याकेट लगाएका कारण आज बजार घटेको हो । भोलीबाट यस्तो रातो ज्याकेट नलगाउनु है!’ । त्यसपछि ब्रोकर हाउसमा केही समय हाँसो गुञ्जियो ।
ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए, दिनको १२ बजिसकेको थियो । बजार एकहोरो घटिरहेको थियो । यतिकैमा एक लगानीकर्ताले भने ‘लौ साथिहरु ! यो घटेको बजार कति हर्ने, जाँउ चिया खान ।’ त्यसपछि सबै लगानीकर्ता चिया पसलतर्फ लागे । यसबेलासम्म दिनको १२ बजिसकेको थियो । बजार १० अंकले घटेको थियो ।
यहाँबाट हामी अनामनगरमा रहेको आर्यतारा सेक्यूरिटिज .(स्टक ब्रोकर नम्बर ५७ )मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । बजार एकहोरो घटेको थियो । यतिकैमा एक महिला लगानीकर्ताले पछाडिको सिटबाट भनिन् ‘धन्न अघिल्लो साता सेयर बेचिएछ । हैन भने बर्बाद नै हुने रहेछ ।’ उनीसँगै बसेका पुरुष लगानीकर्ताले भने ‘हामी त सेयर लिएर बसेका छौ ।’ उनले थप्दै भने ‘बजार घटेको बेला घरमा बस्यो भने त आफ्नै मात्रै घटे जस्तो हुन्छ । ब्रोकर हाउसमा आयो भने साथिहरु भेटिन्छन्, अलि मन शान्त हुन्छ । म त त्यही भएर ब्रोकर हाउसमा आएको ।’
यस ब्रोकरमा हामीले केही समय बजारको विषयमा ब्रोकर सञ्चालकसँग पनि बुझ्यौं । यस ब्रोकरका सञ्चालकले पनि राजनीतिक विषय बाहेक बजार घट्ने कुनै कारण नरहेको बताए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भन्दै थिए, ‘ओलीका राजनीतिक सल्लाहकार विषणु रिमालको स्टाटसले सरकार संकटमा परे जस्तो छ । त्यही कारण बजार घटेका हुनसक्छ ।’
यतिकैमा हामी यहाँबाट भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । दिनभर घटेको बजार केही अंकले फर्कने प्रयास गर्दै थियो । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले खेलाडीले राजनीतिक कारण देखाउँदै सेयर घटाएको आरोप लगाए । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले ‘र ’ का प्रमूख नेपाल आएको र सरकार फेरि संकटमा परेको गानेगुने सुनेको बताए ।
तर ब्रोकर सञ्चालकले भने बजार किन घटेको भन्ने विषयमा आफूनै अलमलमा परेको प्रतिक्रिया दिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अघिल्लो साता सेयर नबेचेर गल्ती गरेको बताए । ‘लोभले लाभ लाभले बिलाप’ भने जस्तै भयो’ उनले भने । ब्रोकर हाउसहरुमा यस्तै गल्फति चल्दै थिए । हामीले भने यो साताको लागि ग्राउण्ड जिरोलाई यहि बिट् मार्ने निधो गर्यौं ।