काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४६ प्रतिशत अर्थात १२.३८ अंकले घटेर २ हजार ६६९.७६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४७.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको गिरावटसँगै नेप्से लगातार ५ दिन घटेको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘यो समय भनेको सिजिनल रुपमा पनि साइडवेज चल्ने बेला हो । केही राजावादी लगायतका दलहरुले आन्दोनका कार्यक्रम घोषणा गरेकाले लगानीकर्तामा अन्यौलताको अवस्था समेत रहेको छ । नयाँ गभर्नरमा कुन व्यक्ति आउने भन्ने पनि एकिन भईसकेको छैन । यस्तो अवस्थामा बजारमा सुधार देखिएको छैन । ’
यद्यपी बजारमा चैत १८–२० गतेदेखि भने सुधार हुन सक्ने उनले बताए ।
अर्का बजार जानकार यज्ञ घिमिरेले पनि आम रुपमा चैत महिना साइडवेज नै चल्ने गरेको बताए । उनले चैत मसान्तको प्रभाव समेत बजारमा परेको हुनसक्ने आँकलन गरे ।
यस्तै गणतन्त्र र राजावादी आन्दोलनकर्ताबीचको टकरावका कारण विदेशी हस्तक्षेप हुनसक्ने सम्भावनाले लगानीकर्ता डराएको उनको ठहर छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो छायो । आज जीवन बीमा समूह मात्रै बढ्यो । यो समूह आज ०.०३ प्रतिशतले बढ्यो ।
फाइनान्स समूहमा आज सर्वाधिक गिरावट आयो । फाइनान्स समूह आज १.३५ प्रतिशत, बैंकिङ ०.३७, विकास बैंक ०.२०,होटल ०.५०,हाईड्रो ०.६४,लगानी ०.१०,उत्पादन तथा प्रशोधन ०.७१,लघुवित्त ०.५५,म्युचुअल फण्ड ०.३९,निर्जीवन बीमा ०.९६,अन्य ०.६१ र व्यापार समूह ०.३२ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड २१ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २३ करोड १२ लाख,सिन्धु विकासको १६ करोड ६४ लाख,युनाइटेड मोदीको १६ करोड २३ लाख र घलेम्दी हाईड्रोको १३ करोड ६ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ७.५३ प्रतिशतले बढ्यो । एशियन हाईड्रोको सेयरमूल्य पनि आज ५.४९ प्रतिशत,सिन्धु विकास बैंकको ४.९७ प्रतिशत,गार्डियन माइक्रो लाइफको ४.४३ र स्वेत गंगा हाईड्रोको सेयरमूल्य ४.२४ प्रतिशतले बढ्यो ।
मिथिला लघुवित्त र भूगोल इनर्जीकोे सेयरमूल्य आज सर्वाधिक घट्यो । यी कम्पनीहरुको सेयरमूल्य आज १० प्रतिशतले घट्दै लोअर सर्किट लाग्यो ।