काठमाण्डौ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति भाटभटेनी सुपर मार्केट प्रालिले आपत्ति जनाएको छ ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बिहीबार एक विज्ञप्ति जारी गरी सांसद कार्की र झाले सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनेकोमा आपत्ति जनाएका हुन् ।
सार्वभौम जनताका प्रतिनिधिमूलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ । तथापि सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ । गुरुंगबाट जारी विज्ञप्तिमा भनिएको छः तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौं ।
तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनि राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
'मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौँ । पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्यतथ्यबाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।' विज्ञप्तिमा अगाडि भनिएको छ-'भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौँ ।'
अरबौंँ रुपैयाँ दानदातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु 'राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र' भएको समेत भाटभटेनीले दाबी गरेको छ ।
एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्न समेत गुरुंगले अपील गरेका छन् ।
'साथै सत्ताको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् माननीय सदस्यहरू नै हुनुहुनेछ भन्ने हामीलाई लागेको छ ।' विज्ञप्तिमा थप भनिएको छ-'अन्त्यमा, फेरि पनि पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गरिदिनुहुन राज्यका निकायसँग अनुरोध पनि गर्दछु ।'

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                