काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.९८ प्रतिशत अर्थात ५३.०४ अंकले घटेर २ हजार ६१६.२६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८० प्रतिशतले घटेर ४३९.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर ६ अर्ब ३२ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन् ‘अहिले राजीतिक अन्यौलता व्याप्त छ । गभर्नर नियुक्तीको विषयले पनि गति लिएको देखिदैन । जसका कारण बजारले लगानीकर्ताको मन जित्न सकेको छैन ।’
पाठकले बजारमा अहिले केही अल्पकालिन लगानीकर्ता हाबी भएको र उधारोमा सेयर किन्नेहरुले बजार मूल्मै बिक्री गरिरहेका कारण बजारमा ‘फ्रिफल’ आएको बताए । यद्यपी बजार सधै घटेको घट्यै नगर्ने भएकाले आगामी दिनमा बजार सम्हालिन सक्ने विश्वास उनले व्यक्त गरे ।
नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले चैत मसान्तको प्रभाव बजार देखिएको बताए । ‘राजावादी र गणतन्त्रवादीहरुको आन्दोलनको विषयले पनि बजार घटेको छ । सरकार फेरिने र गभर्नरमा महाप्रसाद अधिकारी पुनःदोहोरिने जस्ता अफवाहले बजार ओरालो लागेको छ । यद्यपी सहज तरलता र कम ब्याजदरका कारण बजारमा छिट्टै सुधार आउनेछ’ उनले भने ।
उनले बजार बढ्नकै लागि घटेको समेत बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक घट्यो । यो समूह आज २.९९ प्रतिशतले घटेर २ हजार ४८०.६१ विन्दुमा झर्यो ।
यस्तै आज बैंकिङ समूह १.४७ प्रतिशत, विकास बैंक २.४२,होटल २.२३,हाईड्रो २.३३,लगानी २.०५,जीवन बीमा १.८५,उत्पादन तथा प्रशोधन १.४६,लघुवित्त २.३६,म्युचुअल फण्ड ०.६४,निर्जीवन बीमा २.०७, अन्य १.७६ र व्यापार समूह २.८५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४१ करोड ८७ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ३५ करोड ९९ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ५४ लाख, युनाइटेड मोदी हाईड्रोको २० करोड ४४ लाख र सिन्धु विकास बैंकको १९ करोड ४९ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज कुेथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.७२ प्रतिशतले बढ्यो ।
यस्तै एनएमबी५० को मूल्य ३.९४ प्रतिशत,आईसीएफसी लिमिटेड डिबेञ्चर २०८८ को ३.८९ र ११ प्रतिशत एनआईसी एशिया डिबेञ्जर ०८२÷८३ को मूल्य २ प्रतिशतले बढ्यो ।
मिथिला लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । सयपत्री हाईड्रोपावरको सेयरमूल्य पनि आज ७.३४ प्रतिशत,उपकार लघुवित्तको ६.८७ र अपर सोलु हाईड्रो इलेक्ट्रिकको सेयरमूल्य ६.८३ प्रतिशतले घट्यो ।