काठमाण्डौ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.१० अंकले बढेर २ हजार ६४०.७८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४४३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आजको बजारको बढोत्तरीलाई बजार घट्न रोकिएको मान्न सकिन्छ । बजार सपोर्ट लेभलमा आएर फर्किएको छ । यसकारण केही समय अब बजार २८ सय विन्दुसम्म माथि जान सक्छ ।’
प्राविधिक रुपमा आजको बजार आरएसआई ओभरसोल्ड जोनबाट फर्किएको उनले बताए । यस्तै उनले आज कारोबार भने नबढ्नु स्वभाविक नै भएको समेत बताए ।
अर्का बजार जानकार विरेन्द्र विष्टले हिजोअस्तिको बजारको घटाई अस्वभाविक भएको र घट्नु पर्ने कुनै विशेष कारण नभएको बताए । ‘सरकार परिवर्तन हुने विषय हल्ला मात्रै भएको र तत्काल रानीतिक उथलपुथलको कुनै सम्भावना नरहेकाले लगानीकर्ता डराउनुपर्ने कुनै कारण देखिदैन । तेस्रो त्रैमासिक प्रतिवेदनमा बैंकहरुको खराब कर्जा अनुपात सुधार भएर आउदैछ, अर्थतन्त्र सुधारोन्मुख देखिन्छ, ब्याजदर अझै डेढ वर्ष परिवर्तन हुने देखिदैन । यस कारण सेयर बजारले राम्रो गति लिने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.९२ प्रतिशत, विकास बेंक ०.७८, होटल १.१६,हाईड्रो १, लगानी ०.९५,जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त ०.९०,म्युचुअल फण्ड ०.४९, निर्जीवन बीमा ०.६१, अन्य १.९१ र व्यापार समूह १.५५ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ६९ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङको पनि आज १५ करोड २९ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६ लाख,गार्डियन माइक्रो लाइफको १२ करोड ४४ लाख र सिन्धु विकास बे.कको ११ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज गार्डियन माइक्रो लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्यमा आज ९.२९ प्रतिशतको बढोत्तरी देखियो । पोखरा फाइनान्सको सेयरमूल्य पनि ७.४७ प्रतिशत,समृद्धि फाइनान्सको ६.३०,स्वेत गंगा हाईड्रोपावरको ५.६४ र रिलायन्स फाइनान्सको सेयरमूल्य ५.२२ प्रतिशतले बढ्यो ।
अपर हेवाखोला हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.९२ प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.०५ प्रतिशत र युनाइटेड मोदी हाईड्रोपावरको सेयरमूल्य २.९० प्रतिशतले घट्यो ।