काठमाण्डौ। नेप्सेको प्रमुख कार्यकारी अधिकृत(सीईओ))को नियुक्ती नभएको खुलासा भएको छ । गत सोमबारको मन्त्रीपरिषदको बैठकबाट नियुक्त भएको भनिएता पनि मन्त्रीपरिषदका २७ वटा निर्णयहरुमा नेप्से सीईओ नियुक्तीको विषय नभएपछि सीइओ नियुक्तीको विषय थप रोचक बनेको छ ।
सोमबारको मन्त्रीपरिषदले नारद लुँइटेललाई नियुक्ती दिएको एक मन्त्रीले बताएका थिए । तर २ दिन बितिसक्दा पनि लुइँटेलले नियुक्तीपत्र नपाएपछि हालसम्म सीईओ नियुक्ती नभएको खुलासा भएको हो ।
सीईओ नियुक्ती भएको खबर आएपछि नेप्सेको गाडी लुइँटेललाई लिन अर्थमन्त्रालय पुगेको थियो । तर लुइँटेलले बेलुका अबेरसम्म पनि नियुक्तीपत्र नपाए पछि गाडी रित्तै फर्केको नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले जानकारी दिए । अर्थमन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले पनि यस विषयमा अन्यौलता प्रकट गरे । उनले भने,‘नेप्सेको सीईओको नियुक्तीको विषयमा बाहिर जस्तो अन्यौलता छ हामी पनि त्यस्तै अन्यौलतामा छौ । यसबारे केही दिनमा प्रष्ट होला ।’
यस विषयमा अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले पनि अनविज्ञता प्रकट गरे ।