काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा हरियाली छाएको छ । आज नेप्से परिसूचक १.११ प्रतिशत अर्थात २९.८२ अंकले बढेर २ हजार ६९३.१२ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ४५०.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘अघिल्ला साताहरु राजनीतिक विषयले गर्दा घटेको बजारमा केही दिनयता भने सुधार आएको छ । आन्दोलन सकिएपछि लगानीकर्तामा मनोबल बढेको छ । चैत मसान्तको दबाब पनि लगभग सकिएको जस्तो देखिन्छ । लगानीकर्ता अहिले नयाँ गभर्नरको प्रतिक्षामा छन् ।’
ढकालले चैत मसान्तपश्चात भने बजारले नयाँ लय लिने बताए ।
अर्का बजार जानकार राजन लम्सालले आन्दोलनको प्रभाव सेयर बजारमा अन्त्य भएको बताए । ‘यतिबेला राजनीतिक अन्यौलता पनि कम भएको छ । यसका साथै बजारमा क्लोजिङको प्रेसर पनि कम भयो जस्तो देखिन्छ । जसका कारण धेरै सप्लाई देखिएको छैन’ उनले भने ।
नयाँ गभर्नरका लागि पूँजी बजारका बारेमा जानकार व्यक्तिहरुकै नाम अघि आईरहेकाले लगानीकर्तामा उत्साह थपिएको उनले बताए । यस्तै उनले आगामी सातादेखि बजारले नयाँ गति लिने विश्वास व्यक्त गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.०७ प्रतिशतले बढेर १०९.१५ विन्दुमा पुग्यो ।
यस्तै आज बैंकिङ समूह ०.९९, विकास बैंक ०.९३,फाइनान्स २.०६,होटल १.४८, हाईड्रो १.६३, जीवन बीमा ०.९४, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.६८,निर्जीवन बीमा ०.८३,अन्य २.०४ र व्यापार समूह ०.२० समूहले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६९ करोड १९ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ४७ करोड ८४ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ६८ लाख, सिईडिबि होल्डिङको २४ करोड १० लाख र गार्डियन माइक्रो लाइफको १७ करोड ९४ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज जोशी हाईड्रोको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो । दोर्दीखोला जलविद्युतको सेयरमूल्य पनि आज ६.९४ प्रतिशत,कुमारी सबल योजनाको ६.३९ र तेह्रथुम पावरको सेयरमूल्य ६.२४ प्रतिशतले बढ्यो ।
प्रभु स्मार्ट फण्डको मूल्य आज सर्वाधिक अर्थात ५.७९ प्रतिशतले घट्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य आज ३.९४ प्रतिशत र कुथेली बुखरी स्मल हाईड्रोको ३.२५ प्रतिशतले घट्यो ।