काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पहिलोपटक ३१ डलर डलर पार पुगेको छ । सोमबारको कारोबार सुनको मूल्य ८.८२ डलरले बढ्दै प्रतिऔंस ३ हजार १०९ डलर पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उग्र ट्यारिफ नीतिले निम्त्याएको सम्भावित आर्थिक क्षति र बढ्दो विश्व भूराजनीतिक संकटका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ । विषम् परिस्थितीमा लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । जसका कारण मागको तुलनामा आपूर्ति कम हुँदा सुनको मूल्य आकाशिएको छ ।
यो वर्ष सुनको मूल्यले १८ पटकसम्म अल टाइम हाईको उचाई चुमिसकेको छ । यसै महिना सुनको मूल्यले पहिलोपटक प्रतिऔंस ३ हजार डलरको मनोवैज्ञानिक आँकडा पार गरेको थियो । सुनको निरन्तरको मूल्यवृद्धिले आर्थिक अस्थिरता,भूराजनीतिक तनाव र मुद्रास्फितीको सम्भावनालाई प्रतिविम्वित गरेको विश्लेषकहरुले बताएका छन् ।
बढ्दो मूल्यवृद्धिका कारण धेरैजसो बैंकहरुले सुनको मूल्यप्रतिको आफ्नो आँकलन बढाउदै गएका छन् । गोल्डम्यान स्याक्स र युबीएसले यस वर्षको अन्त्यसम्म सुनको मूल्यले प्रतिऔंस ३३ सयको आँकडा पार गर्ने अनुमान गरेका छन् ।