काठमाण्डौ । अमेरिकी ट्यारिफ नीतिविरुद्ध चीन,जापान र दक्षिण कोरिया एकजुट हुन सहमत भएका छन् । चीनको सरकारी सञ्चार माध्यम सिसिटीभीले अमेरिकी ट्यारिफविरुद्ध यी ३ देशले संयुक्त प्रतिक्रिया जनाउन सहमत भएको जनाएको हो ।
सिसिटीभीको यो खबरलाई दक्षिण कोरियाले भने केही हदसम्म अतिरञ्जित भनेको छ । पाँच वर्षमा यी तीन देशले पहिलोपटक आर्थिक संवादको आयोजना गरेसँगै चिनियाँ सञ्चार माध्यमले अमेरिकी ट्यारिफविरुद्ध एकजुट हुन यी देशबीच सहमति बनेको उल्लेख गरेको हो ।
यो सहमति क्षेत्रिय व्यापारलाई सन्तुलित बनाउन लक्षित रहेको जनाइएको छ । जापान र दक्षिण कोरिया चीनबाट सेमिकन्डक्टर कच्चा पदार्थ आयात गर्न इच्छुक देखिएका छन् । यस्तै चीनपनि जापान र दक्षिण कोरियाबाट चिप प्रडक्टहरु खरिद गर्न इच्छुक देखिएको जनाइएको छ ।
तीनवटै पक्ष आपूर्ति श्रृखला सहकार्यलाई मजबुत बनाउन र निर्यात नियन्त्रणका लागि वार्ता जारी राख्न सहमत भएका छन् ।
अमेरिकी ट्यारिफविरुद्ध सहमति भएको बारे प्रश्न गर्दा दक्षिण कोरियाका व्यापार मन्त्रालयका प्रवक्ताले यो विषयलाई केही हदसम्म अतिरञ्जित ढंगले प्रस्तुत गरिएको प्रतिक्रिया दिए ।