काठमाण्डौ । दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले अमेरिकी डिलरहरुलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफका कारण सवारी साधनको मूल्य बढ्ने सक्ने चेतावनी दिएका छन् । ट्रम्पले अमेरिकामा आयात हुने विदेशी अटो कम्पनीहरुलाई अप्रिल ३ देखि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेसँगै हुन्डाईले मूल्य वृद्धि गर्ने रणनीति सार्वजनिक गरेको हो ।
हुन्डाई तथा जेनेसिस मोटर नर्थ अमेरिकाका सीईओ र्यान्डी पार्करले एक विज्ञप्ती जारी गर्दै वर्तमानको मूल्यको सूनिश्चितता नभएको र अप्रिल २ पश्चात मूल्यमा हेरफेर हुनसक्ने बताएका छन् ।
ट्यारिफ लागू भए कम्पनीले अमेरिकामा उल्लेख्य रुपमा मूल्यमा बढोत्तरी गर्नुपर्ने विश्लेषकहरुले बताएका छन् । जसका कारण अमेरिकी उपभोक्ताहरुलाई कारको खरिद महङ्गो पर्न जानेछ ।
कक्स अटोमोटिभका अनुसार २५ प्रतिशत ट्यारिफका कारण अमेरिकामा निर्मित कारको मूल्य ३ हजार डलर र क्यानडा र मेक्सिकोमा निर्मितको ६ हजार डलरले बढ्नेछ ।
पार्करले कम्पनीको उत्पादन मेक्सिको र क्यानडामा पूर्ण रुपमा निर्भर नभएकाले केही सहज हुने समेत बताएका छन् ।
कम्पनीले केहि समयअघि मात्रै अमेरिकामा २१ अर्ब डलरबराबरको लगानी गर्ने घोषणा गरेको थियो ।