काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर रहेका बैंकका शाखाबाट लिन सकिने भएको छ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित सुरुङमार्गमा टोल भुक्तानीका लागि इलेक्ट्रोनिक टोल कलेक्सन प्रणाली लागू गरिएको छ। सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन-ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको उपकरणले स्वचालित रूपमा पहिचान गर्नेछ।
टोल शुल्क सम्बन्धित ट्यागबाट स्वतः कट्टा भएपछि गेट खुल्ने व्यवस्था रहेकाले यात्रुले लामो लाइनमा बस्नुनपर्ने र छिटो तथा झन्झटरहित यात्रा गर्न सक्ने बैंकले जनाएको छ।
सवारीधनीले सानिमा बैंकका जुनसुकै शाखाबाट एन-ट्याग प्राप्त गर्न सक्नेछन्। एन-ट्यागलाई ई-सेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रिचार्ज गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकले यो सेवा काठमाण्डौमा मात्रै सीमित नराखी देशभरको शाखा सञ्जालमार्फत उपलब्ध गराएको जनाएको छ। यसबाट उपत्यकाबाहिरका सवारीधनीले पनि नजिकको शाखाबाटै एन-ट्याग लिन सक्नेछन्।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले नागढुंगा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताएका छन्। बैंकले आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म सेवा पुर्याउने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।