काठमाण्डौ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालयअन्तर्गतको स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखराबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौता फागुन १६ गते एक कार्यक्रमका बीच सम्पन्न भएको हो । सन नलेज पार्टनरशीप कार्यक्रमअन्तर्गत भएको उक्त सम्झौतामा सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकायअन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।
यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजारअन्तर्गत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।
यस सम्झौताअन्तर्गत पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेश सहकार्यका विद्यार्थी, शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।
उक्त सम्झौतामा पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सका तर्फबाट अध्यक्ष स्वस्तिका क्षेत्री र सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए ।