काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा आज झिनो अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्सेको चार्टमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ ।
यस्तो क्याण्डल दिनभर बिक्रीकर्ताले बजारलाई नियन्त्रणमा लिएको तर अन्त्यमा खरिदकर्ता हाबी भएको खण्डमा ह्याम्मर क्याण्डल बन्ने गर्छ ।
यसले सम्भावित रुपमा बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ । तर यसको निश्चितताको लागि भने आगामी क्याण्डल बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्नेछ । आज बजार घट्दा कारोबार भने घटेको छ । यसले बिक्रीकर्ता पछि हट्दै गएको बुझिन्छ । बोलिङ्गर ब्याण्ड पनि बिस्तारै खुम्चिएको छ । तर बजारले मध्य ब्याण्डमा पटक–पटक प्रतिरोध सामना गरेको छ ।
यसकारण अब बजार मध्य ब्याण्ड २६८५ विन्दुभन्दा माथि टिकेको खण्डमा सम्भावित रुपमा माथिको यात्रा तय गर्न सक्छ । मनी फ्लो इन्डेक्समा भने बजारले एकपटक ओभर सोल्ड जोनमा पुगेर माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ । यसकारण आगामी कारोबारमा यदि बजार २७०० विन्दुमाथि टिकेको खण्डमा पुनः माथिको यात्रा तय गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।