काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ४.७६ प्रतिशत अर्थात १४१.७४ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १२२.३९ डलरमा कारोबार भईरहेको छ । यो वृद्धि सन् २०२३ अक्टोबरपछिकै उच्च हो ।
यसअघि गत अप्रिल ३ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलर पुगेको थियो । सन् २०२५मा सुनको मूल्य ४ सय डलरभन्दा बढीले वृद्धि भईसकेको छ ।
अमेरिका र चीनबीच बढ्दै गएको व्यापार युद्धका कारण सुनको मूल्यमा उछाल आएको हो । अमेरिकी राष्ट्रपतिले चीनमाथि ट्यारिफ थपेको थप्यै गरिरहेका छन् । जसको प्रतिउत्तरमा चीनले पनि अमेरिकामाथि ट्यारिफ घोषणा गरिरहेको छ ।
विश्वका यी दुई शक्ति राष्ट्रबीचको व्यापारीक सम्बन्धमा आएको तिक्तताले ठूलो रुप लिने भयका कारण लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् ।
यसैबीच ट्रम्पले चीनबाहेकका देशहरुका लागि ९० दिनसम्म ट्यारिफको योजना स्थगित गरेका छन् । ट्रम्पको ट्यारिफ नीतिका कारण यतिबेला विश्वकै आर्थिक मन्दीमा फस्ने भय प्रकट भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ १.३७ डलरले उकालो लाग्दै प्रतिऔंस ३१.१८ डलर पुगेको छ ।